सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिटर रिडिङ नगरी जरिबानासहित महसुल असुलेको भन्दै प्राधिकरण घेराउ

२०७८ साउन ८, ०४:२९ खबर संवाददाता

धनगढी : मिटर रिडिङ नगरी मनोमानी रुपमा महसुल र जरिबाना असुलेको भन्दै नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र घेराउ गरिएको छ। चैतदेखि मिटर रिडिङ नगरेको वितरण केन्द्रले तेब्बर बढी महसुल र जरिबाना असुल्न थालेपछि घेराउ गरिएको हो। धनगढीका डम्मरदेव पडालले प्राधिकरणले मनोमानी अंक राखेर १० प्रतिशत जरिबाना लगाएर महसुल बुझेको बताए। 

‘असार महिनाका ७ सय ३८ रुपैंया राखिएको छ। जसमा १० प्रतिशत जरिबाना समेत देखाइएको छ,’ उनले भने, ‘सरकारले निशेधाज्ञामा २० युनिट सम्म छुट गर्ने निर्णय गरेको छ। तर यहाँ अनुमानको भरमा महसुल असुल्न थालिएको छ।’

धनगढी–५ का जनक भण्डारीले पनि मिटर रिडिङ नै नगरी मनोमानी महसुल रकम राखेर जरिबाना असुल भएपछि वितरण केन्द्र घेराउ गरिएको बताए। उपभोक्ताले धनगढी वितरण केन्द्रका कार्यालय प्रमुखको कार्याकक्ष पनि घेराउ गरेका थिए। 

यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले निषेधाज्ञाका कारण ग्राहको घरमा जान नसकिएको बताए। ‘असार १५ गतेसम्मका लागि हामीले औसतमा बिल बनाएका छौ। कोरोना संक्रमणको त्रासले हामीले मिटर रिडिङ नगरेका हौँ। अघिल्लो वर्ष तथा महिनाको आधारमा हामीले रिडिङ गरेका छौ,’ उनले भने।

यो पनि : कैलालीमा मिटर रिडिङ नगरी तेब्बर बढी महसुल असुली

कमेन्ट लोड गर्नुस