सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलले किन लिए राजीनामा फिर्ता ?

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ८, १२:५५ खबर संवाददाता

धनगढीः एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन्। 

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । 

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेको बताउदै उनले राजीनामा दिएका थिए।

राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए। एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए। 

यसअघि सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशसभाका रावल समर्थक मन्त्री र सांसदहरू उनको राजीनामा फिर्ता गराउन काठमाडौं आएका थिए। प्रदेश सरकारका चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौं पुगेर रावललाई भेटेको थियो। उनीहरूले रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए।

कमेन्ट लोड गर्नुस