सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरी र स्थानीयबीच किन भयो झडप ?

२०७८ साउन ६, ०७:०७ खबर संवाददाता

धनगढी : धनगढीमा पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भयो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को हाटबजार, विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको थियो।

सो क्रममा सात जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी गरी १३ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ भने केही स्थानीय पनि घाइते छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार स्थानीयले ढुंगा प्रहार गर्दा १३ सुरक्षाकर्मी घाइते भएका हुन्।

सो क्रममा प्रहरीले लाठी चार्ज गर्दा केही स्थानीय पनि घाइते भएको वडा नम्वर २ का बासिन्दाले बताएका छन्। प्रहरीका अनुसार वडा नम्बर २ का दुई जनालाई पक्राउ गरिएको छ। सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन ५७ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको उनले बताए। 

के हो विवाद ?
धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का बासिन्दा सधै मिलेर बसेका थिए। विगतदेखि नै बर्सातमा वडा नम्बर ३ को पानी वडा नम्बर २ भएर निकास हुँदै आएको थियो। तर ३ नम्बरको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको समस्या बढ्ने भन्दै वडा नम्बर २ का स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरे।

वडा नम्बर २ को उक्त माग नयाँ भने होइन्। उनीहरुले वर्षाैदेखि यो माग गर्दै आएका छन्। यो वर्ष मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट वडा नम्बर २ का स्थानीयले बन्द गरे।

कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा प¥यो। वडा नम्बर ३ को जमेको पानी निकास गर्न २ नम्बर वडाका स्थानीयले बन्द गरेको कलभर्ट खोल्न माग गरियो। वडा नम्बर २ का स्थानीयले भने उक्त कल्भर्ट खोल्दा आफूहरु डुबानमा पर्ने समस्या सुनाए। सोही क्रममा प्रहरीले मंगलबार बल प्रयोग गरेर कल्भर्ट खोलेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो।

अहिले पनि वडा नम्बर २ का बासिन्दाले वडा नम्बर ३ को जमेको पानी वडा नम्वर २ मा नल्याएर मोहना नदीमा निकास गराउनपर्ने माग गर्दै आएका छन्। यता वडा नम्बर ३ का स्थानीयले भने प्राकृतिक बहाब नै वडा नम्बर २ भएर बग्ने बताउँदै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस