सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावल र प्रेम आलेको खेमा एउटै कि फरक ?

२०७८ साउन ५, ०२:४० खबर संवाददाता

धनगढी : तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खेमामा हुँदा प्रेम आले भन्थे, ‘भीम रावलकै कारण मैले माधव नेपाल समूह छोडेको हुँ।’ ओली सरकारको क्याविनेटमा वन तथा वातावरण मन्त्री हुँदा आले रावलविरुद्ध झनै आक्रमक रुपमा प्रस्तुत भए।

उनले आगामी चुनावमा भीम रावलले जिते राजनीतिबाट सन्यास लिने घोषणा नै गरे। ‘रावल आगामी चुनावमा अरुलाई प्रत्यक्ष निर्वाचनको टीकट दिएर आफु समानुपातिक उम्मेदवार बन्नेछन्। उम्मेदवार भए चुनाव हार्छन। उनले जिते म राजनीतिबाट सन्यास लिन्छु,’ मन्त्री हुँदा आलेले भनेका थिए। 

आले रावलविरुद्ध आक्रमक हुँदा भीम रावल पनि पछि थिएनन्। आलेलाई केपी शर्मा ओलीले मन्त्री बनाएपछि रावलले चोरको हातमा साँचो परेको टिप्पणी गरेका थिए। उनले तस्करलाई वनमन्त्री बनाएको अभिव्यक्ती पनि दिए।

मन्त्री हुँदासम्म माधव नेपाल समूहका कट्टर विरोधी देखिएका आले अहिले सोही समूहमा लागेका छन्। उनले ओली समूहलाई छोडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासतको मत दिइसकेका छन्। 

नेपालका विश्वासका पात्र भीम रावलले भने देउवालाई विश्वासतको मत नदिएर सांसद पदबाट राजीनामा घोषणा गरेका छन्। रावलले नेपाल समूह छोडेको–नछोडेको अझै स्पष्ट पारेका छैनन्।

अहिले एकअर्काको नाम सुन्नै नसक्ने भीम रावल र प्रेम आलेको खेमा एउटै हो वा फरक भन्ने जिज्ञासा बढेको छ। रावल निकट एक नेताले भने, ‘भीम रावलले माधव नेपालको साथ छाडेका छैनन्। छाड्ने सम्भावनाच पनि न्यून छ। यस्तो अवस्थामा रावल र आले एउटै खेमामा हुने देखिन्छ।’ 

कमेन्ट लोड गर्नुस