सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्सातमा हिलाम्य र जलमग्न धनगढीका सडकमा आवतजावत गर्नै मुस्किल

२०७८ साउन ५, ०७:०३ खबर संवाददाता

धनगढी : धनगढीको मुख्य बजारको सडक नै ठाउँठाउँमा फुटेको छ। बसपार्क क्षेत्रबाहेक मुख्य सडकको अन्य क्षेत्रमा सामान्य टालटुल मात्रै हुने गरेको छ। जुन ६ महिना पनि टिक्दैन्। त्यसैमा क्षणभरको वर्षाले मुख्य सडक खोलामा परिणत हुन्छ।

ठाउँठाउँमा फुटेका सडक र त्यसैमा जलमग्न हुने समस्याले सवारी साधन गुडाउनै गाह्रो हुने बताउँछन् धनगढीका चन्द्र चौधरी। ‘सामान्य पानीमा पनि पूरै सडक जलमग्न हुन्छ। कहाँ सडक फुटेको छ र कहाँ खाल्डाखुल्डी छन् भन्ने थाहा नै हुँदैन्। आवतजावतमा साह्रै मुस्किल छ,’ उनले भने। 

मुख्य बजार क्षेत्रको सडक मात्रै नभई साविकको धनगढी नगरपालिकाका १४ वडाका भित्री सडकको अवस्था झनै दयनिय छ। ठेक्का सम्झौता भएर निर्माणका लागि भत्काइएका अधिकासं सडकमा त आवागमन ठप्प जस्तै छ।

धनगढीकै शिवराज जोशीले संघीय सरकारले कार्यान्वयन गर्दै आएको क्षेत्रीय सहरी विकास आयोजनाअन्तरगतका सडकमा आउजाउ गर्नै छोडेको बताए।

‘अधिकासं सडक निर्माणका लागि भत्काएर छोडिएको छ,’ उनले भने, ‘तर सडक भत्काएको लामो समय हुँदा पनि भौतिक प्रगती धेरै देखिन्न। ती सडकभन्दा स–सना सडक भएर आवागमन गर्दै आएको छु।’ 

पछिल्लो पाँच वर्षयता धनगढीमा कालोपत्रे भएका अधिकासं सडक संघीय सरकारको बजेटमा बनेका हुन्। संघीय सरकारको सघन सहरी विकास कार्यक्रममार्फत मात्रै धनगढीमा झण्डै एक सय किलोमिटर सडक कालोपत्रे भएको छ।

केही ठाउँमा प्रदेश सभा सदस्य तथा उपमहानगरपालिकाले कालोपत्रे सडक बनाए पनि ती सडक ६ महिना पनि नटिक्ने समस्या छ। तर धनगढीमा बढि आवागमन हुने सडकको भने दुर्दशा छ। 
 

कमेन्ट लोड गर्नुस