सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली फेसबुक आइडी बनाएर ठगी, जापान पठाईदिन्छु भनेर ३९ लाख लिए

२०७८ साउन ४, ०६:०७ खबर संवाददाता

काठमाडौ: महानगरीय अपराध महाशाखाले जापान पठाइदिन्छु भनी रकम ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर हेटौडा  उपमहानगरपालिका-१२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सुर्योदय नगरपालिका-४ अन्तु घर भई हाल नयाँबानेश्वर बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका-९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटीकी बासँबारी बस्ने २१ वर्षीय दिपिका केसी रहेका छन्।

उनीहरुले नक्कली फेसबुक आइडी बनाएर तानाकायोका नामबाट फ्रेन्ड रिक्वेस्ट पठाउने र आफू जापानको ईमिगेरेसनमा काम गर्ने नागरिक बताउँदै पीडितहरु सँग चिनजान गर्ने गरेका थिए। उनीहरुले पीडितहरुलाई कामदर भिषामा जापान पठाइदिने बताएका थिए।

त्यसबापत भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनी प्रलोभनमा पारि विभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको थिए।

तर पीडितहरुलाई जापान नपठाई सम्पर्क विहिन भई ठगी गरेको आरोपमा ४ जनालाई आज महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस