सुदूर नेपाललाई विश्वसँग जोड्दै

झपट रावल विश्वासको मत दिने बेला पछाडिको ढोकाबाट किन भए ‘आउट’ ?

२०७८ साउन ४, ०४:२० खबर संवाददाता

धनगढी : नेकपा एमालेको माधव नेपाल समूहमा रहेका प्रतिनिधिसभा सदस्य झपट रावालले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने चर्चा थियो।

उनी आफैँले पनि आइतबार दिउसोसम्म प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएका थिए। तर एमालेको माधव समूहमा रहेका रावालले अन्तिम समयमा आएर देउवालाई विश्वासको मत नदिएपछि उक्त विषयले अहिले चर्चा पाएको छ। 

विश्वासको मतका लागि मतदान हुनअघि नेताहरुले बोल्ने अन्तिम समयतिर रावल संसद भवनको पछाडिको ढोकाबाट बाहिरिएका थिए। कतिपयले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेपछि झपट रावलले पनि सरकारलाई विश्वासको मत नदिएको अड्कल काट्न थालेका छन्।

देउवालाई विश्वासको मत किन दिनु भएन ? भन्ने दिनेशखबरको प्रश्नमा कैलालीबाट प्रतिनिधि सभा सदस्य रहेका रावलले भने, ‘प्रतिनिधि सभा पुर्नस्थापनको पहिलो दिनको बैठकको दिन एक्कासि विश्वासको मत लिने भन्ने कुरा आयो। यसका पछाडि नेकपा एमाले एक हुन्छ कि भनेर कुनै प्रतिक्रियाबादीहरु अतालिएको हो भन्ने मेरो बुझाई रह्यो। विगतमा प्रतिगमनलाई साथ दिएकाहरु पुर्नस्थापित प्रतिनिधि सभामा विश्वासको मत दिनका लागि तयार भएपछि मैले यो निर्णय गरेको हुँ।’

हिजोको दिनमा ओलीलाई साथ दिएकाहरुले आज फेरी सत्ताकै पछाडि लागेको देखिएपछि आफू संसदबाट राति मात्रै निस्किएको बताए। महन्त ठाकुर लगायतका नेताहरुले देउवालाई विश्वासको मत दिने घोषणा गरेपछि आफूलाई चित्त नबुझेको भनाई उनको थियो।

माधव नेपाल समूह छोड्नुभएको हो ? भन्ने प्रश्नमा रावलले भने, ‘पहिलो कुरा त म एमालेको कार्यकर्ता हुँ। एमालेलाई बलियो बनाउनु पर्छ भन्ने हो। हामी सोही मुद्धामा समावेस भएका छौ। पार्टी भित्रको अन्तर सर्घषमा हामी एक ठाउँमा भएकाले अहिले पनि त्यो लडाई जारी छ। पार्टी एकता हुनु पर्छ। अनि पार्टी आफ्नो गतिमा अगाडि बढ्छ।’

कमेन्ट लोड गर्नुस