सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीले स्पष्टीकरण सोधेपछि झाँक्रीले भनिन्– तपाईं अध्यक्ष छाड्नुस्

२०७८ साउन ४, ०२:०८ खबर संवाददाता

काठमाडौं: एमाले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीलाई संयमित भएर एकताको पक्षमा केन्द्रित हुन आग्रह गरेकी छिन्।

पटक-पटक असंवैधानिक र गैरकानुनी काम गर्दै अघि बढेका अध्यक्षले आक्रोशमा अन्य सदस्यलाई कारबाही गर्ने नभई संयमित भएर अघि बढ्नुपर्ने धारणा झाँक्रीको छ।

'हामीहरूमाथि सोधिने स्पष्टीकरण पार्टीको विधान र संविधानको धाराले चिन्दैन। ओलीले यसअघि गरेका कारबाहीको पनि कुनै तुक थिएन। यसको पनि कुनै औचित्य छैन,' उनले भनिन्। 

एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई कारबाहीपूर्व स्पष्टीकरण सोधेको छ। २४ घण्टे स्पष्टीकरणपछि उनीहरूलाई कारबाही गर्ने एमालेको तयारी छ। यसै कदमको जवाफ दिँदै उनले ओलीलाई थप गल्तीहरू गर्दै जानुको साटो अवैधानिक कदम सच्याउन चुनौती दिएकी हुन्।

'हामीले संविधान र संसदलाई जोगाएर कुनै पनि अपराध गरेका छैनौँ। बरु दुईतिहाइको कम्युनिस्ट पार्टी र सरकारको अवसान गराउँदै उहाँले गल्ती गर्नुभएको छ। आफ्नो गल्तीप्रति क्षमा माग्दै संयमित ढंगले अध्यक्ष ओली एकताको पक्षमा उभिनुपर्छ,' उनले भनिन्।

एमाले एकताका लागि अध्यक्षबाट राजीनामा आवश्यक परे ओलीले राजीनामा दिनुपर्ने झाँक्रीको भनाइ छ। 

कमेन्ट लोड गर्नुस