सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले माधव नेपालसहित २२ जनालाई अनुशासनको कारबाही गर्ने

२०७८ साउन ४, ०१:४३ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ।

केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका छन्। तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेका छन्।

बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए। आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए।

सर्वोच्च अदालतले देउवालाई समर्थन गरेका आधारमा सांसदलाई कारवाही गर्न नमिल्ने भनेको छ। तर, पार्टीले विधान अनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ। सांसद पदबाट हटाउन नमिले पनि पार्टी अनुशासन नमान्नेमाथि पार्टीका जिम्मेवारीबाट हटाउने र सदस्यबाट समेत हटाउन सक्ने एमालेको दावी छ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन्।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए।

कमेन्ट लोड गर्नुस