सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भित्ता फोडेर २ घरबीचमा फसेको कुकुरको उद्धार

२०७८ साउन ४, ११:१७ खबर संवाददाता

धनगढी: आइतबार दिउँसो धनगढीमा सामुदायिक कुकुरहरुको हेरचाह गर्ने स्ट्रीट पअजकी फाउन्डर रितीका गुरुङलाई एक व्यक्तिको फोन आयो। उनलाई नारायण चौधरी नाम गरेका व्यक्तिले धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीबाट फोन गरेका रहेछन्। 

‘दिउँसो १२ बजेतिर फोन गरेका ती दाईले एउटा कुकुरको छाउरो २ घरको पर्खाल बीचमा फसेको छ उद्धार गर्न आइदिनुपर्‍याे भन्नुभयो’ रितीकाले भनिन्, ‘हामी उनले भनेअनुुसार नाष्ट कजेल नजिकै रहेको उक्त घरमा पुग्यौं।’

उनका अनुसार त्यहाँ एक कुकुरको छाउरो दुई घरको पर्खालबीचमा अड्किएको थियो। सुरुमा भित्र गएको ठाउँबाट उसलाई निकाल्न खोजेको तर सम्भव नभएको उनले बताइन्। 

उनले भनिन्, ‘केही सीप नलागेपछि हामीले घर धनीलाई घरको एउटा भित्ता फोड्छौं भनेर अनुरोध गर्यौं। सुरुमा त मान्नुभएन तर हामीले उक्त भित्ताको पुनः निर्माण गरिदिने भनेपछि उहाँ सहमत हुनुभयो।’

स्ट्रीट पअजका सदस्यहरुले करिब ३ घण्टाको मिहेनतपछि उक्त कुकुरको उद्धार गरेका थिए। त्यसपछि उनीहरुले उक्त फुटाइएको भित्ता निर्माण गरिदिएका थिए।

अहिले उपचारपश्चात उक्त कुकुरलाई ती फोन गर्ने नारायण चौधरीले पाल्ने भनेर राखेको रितीका गुरुङले बताइन्। 

पछिल्लो केही समयदेखि स्ट्रीट पअजले धनगढीमा छाडिएका कुकुरहरुको उपचार गरिरहेको छ। साथै सामुदायिक कुकुरलाई बेलाबेला खाना समेत पअजले खुवाउँदै आएको छ। 

कमेन्ट लोड गर्नुस