सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शहिदगेट-क्याम्पस चोक जोड्ने सडक खोला बन्यो

२०७८ साउन ३, ०६:४३ खबर संवाददाता

धनगढीः लगातार भइरहेको वर्षाका कारण निर्माणाधिन शहिदगेट क्याम्पस चोकजोड्ने सडक जलमग्न भएको छ। जसकारण स्थानीयहरुलाई आवत–जावत गर्न निक्कै समस्या भइरहेको छ। 

पुरानो मुख्यमन्त्री निवासदेखि शहिदगेट सम्मको सडक पानीले पुरै भरिएको छ। पानी निकास हुने नाली नहुँदा सो सडक पानीले भरिएर खोला जस्तै बनेको छ।

उक्त सडकमा हिँड्डुल गर्न निक्कै जोखिमपूर्ण हुने गरेको स्थानीयले बताएका छन्। सडक भएर जाने गाडीको आधा भागसम्म पानी पुग्दा सानो गाडीहरु बिग्रीने समस्या समेत रहेको छ।  

‘पानी पुरै भरिएर खाल्डो कुन ठाउँमा छ भन्ने समेत थाहा भइरहेको छैन्। जोखिम मोलेर यात्रा गर्नु परिरहेको छ’ स्थानीय इन्द्रदेवले भने, ‘ज्यानै जाने जोखिम छ।’ निर्माणधिन उक्त सडकमा नाली बनाएर पानी निकास गरिनुपर्ने उनको माग छ। 

बर्सातको समयमा धनगढी उपमहानगरपालिका रहेका भित्री सडकहरुमा पानी जम्दा आवत–जावतमा समस्या भइरहेको अर्का स्थानीय सिवम शाहले बताए। 

यस्तै सडक निर्माणमा ढिलासुस्ती हुँदा एकदमै समस्या भइरहेको राम विष्टले बताएका छन्। ‘नेपालको काइदा, जती ठग्यो उती फाइदा भने जस्तै भएको छ। वर्षा नहुँदै निर्माण सम्पन्न गर्नुपर्ने हो धेरै ढिला सुस्ती भयो। आँगनमा जाने बाटो नै बिगारिदियो’ उनले भने।  

सडकभन्दा नालीको उचाई बढी छ। जसकारण नालीको पानी समेत सडकमा आएर जम्मा हुने गरेकाले सडक पानीले लभलभ भरिएको छ। 

कमेन्ट लोड गर्नुस