सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता भीम रावलले किन दिए सांसद पदबाट राजीनामा ?

२०७८ साउन ३, ०४:३० खबर संवाददाता

धनगढी: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादु्र देउवाले आजै विश्वासको मत लिने तयारी गरेको बेला रावलले प्रतिनिधि सभा सदस्य पद बाट राजीनामा दिएका हुन्।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै देश र जनविरोधी राजनीतिको मतियारबाट टाढा हुन राजीनामा दिएको बताएका छन्।  ‘‘देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले भने। 

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा नेपाल समूहबाट संयोजक थिए। पार्टी एकता कायमै राख्न उनको जोडबल थियो। माधव समूहका कतिपय सांसदले व्यक्तिगत अभिव्यक्ति दिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका थिए।

रावलले भने व्यक्तिभन्दा पनि संस्थागत निर्णय हुनुपर्ने अडान लिएको थिए। रावल निकट एक नेताका अनुसार संस्थागत निर्णयको पक्षमा माधव समूह नदेखिएपछि रावलले राजीनामा दिएका हुन्। 

उनले  २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

कमेन्ट लोड गर्नुस