सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले थाल्यो कोभिडको तेस्रो लहर रोकथामको तयारी

२०७८ साउन २, ०३:२२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले कोभिडको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजना बनाएर तयारी थालेको छ। कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै रोकथामका लागि अपनाउनुपर्ने सावधानी र तयारी थालिएको हो।

नयाँ आर्थिक वर्ष शुरुवात भएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडको तेस्रो लहरको  रोकथामको तयारी र विगतमा गरिएका कार्य सम्पादनको समीक्षा गरेको छ। कोरोनाको संक्रमण फैलिन नदिनका लागि गरिएका क्रियाकलाप, सामना गर्नु परेका चुनौती र समस्याबारे कैलाली कञ्चनपुरका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग बैठकको आयोजना गरी समीक्षा गरिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताए।

‘विश्व स्वास्थ्य संगठनलगायत जनस्वास्थ्य विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुने आंकलन गरेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एकीकृत प्रयास थाल्नु आवश्यक छ’ मन्त्री खड्काले भने, ‘विगतका कमी कमजोरी सच्याएर र प्रभावकारी रूपमा कार्यलाई अगाडि बढाउन प्रयासरत रहनका लागि आजैदेखि तयारी थालेका छौँ।’

तेस्रो लहरको सामना गर्नका लागि पूर्व–तयारीमा जुटेको बताउँदै भारतबाट आउने र जानेहरूको स्वास्थ्य चेकजाँचको कार्यलाई प्रभावकारी बनाउने, स्थायी होल्डिङ सेन्टरको व्यवस्था गर्ने, स्वास्थ्य चौकीहरूमा औषधि र जनशक्तिको अभाव हुन नदिने, कोरोनाका बिरामीको उपचार हुँदै आएका अस्पतालमा बालबालिका लागि छुट्टै वार्डको व्यवस्था गर्नेलगायतका कार्यहरू अगाडि बढाइएको उनको भनाई छ।

कमेन्ट लोड गर्नुस