सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुक ग्रुपमा नयाँ फिचर, एड्मिनले ‘एक्सपर्ट’ छान्न सक्ने

२०७८ साउन १, ०८:३२ खबर संवाददाता

काठमाडाैं : फेसबुक ग्रुपमा अब एड्मिनले एक्सपर्ट छान्ने सुविधा पाउने भएका छन्। कम्पनीकाे नयाँ फिचरअन्तर्गत कुनै पनि विषयको छलफलको लागि वा कुनै विशेष प्रयोजनको लागि खोलिएको फेसबुक ग्रुपका एड्मिनले कुनै सदस्यलाई एक्सपर्ट अर्थात् विज्ञ चुन्न सक्नेछन्। 

कुनै ग्रुपमा हुने छलफलमा उक्त बिषयको बारेमा छान्ने व्यक्ति अरुभन्दा फरक देखिऊन् भन्नको लागि यो फिचर ल्याउन लागेकाे फेसबुकले जनाएको छ।

फेसबुकले यो फिचर सुरु गर्ने घोषण गरेसँगै केही जानकारहरुले भने यसको दुरुपयोग हुने चिन्ता पनि व्यक्त गरेका छन् । फेसबुकमा धेरै अतिवादी वा षड्यन्त्रका सिद्दान्तवादीहरुले ग्रुप निर्माण गरी भ्रम सिर्जना गर्ने विषयमा छलफल गरिरहेका हुन्छन्। 

यस्तो फिचरले कोही त्यस्ता व्यक्तिलाई विज्ञको रुपमा चित्रित गरिदिँदा सामान्य प्रयोगकर्ताले झन् धेरै विश्वास गर्नसक्ने उनीहरुको चिन्ता छ । फेसबुकले भने यो फिचर तत्काल सबै प्रयोगकर्तामाझ सुरु नगरिने र केही सीमित फेसबुक पेजमा परीक्षण गरेर यसमा आवश्यक सुधार गरिने जानकारी दिएको छ।

फेसबुकले ग्रुप एड्मिनले विज्ञ अर्थात् एक्सपर्ट चुनेको व्यक्तिबारे पछिल्ल्ला ९० दिनमा तीनभन्दा बढी उजुरी परे त्यस्ता व्यक्तिलाई एक्सपर्टको रुपमा चुन्न नसकिने व्यवस्था गर्ने जनाएको छ।

कुनै पनि समूहमा हुने छलफलमा वास्तविक रुपमा ज्ञान भएका व्यक्तिलाई प्रवर्द्धन गर्नका लागि यस्तो फिचर सुरु गर्न लागिएको फेसबुकले जनाएको छ । फेसबुक ग्रुपमा हाल संसारभर ७ करोड भन्दा बढी एड्मिन र मोडरेटर रहेको फेसबुकको तथ्यांक छ ।

कमेन्ट लोड गर्नुस