सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ११ महिनामा ३४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

२०७८ साउन १, ०२:३७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा ११ महिनामा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा तीन सय १९ पुरुष, १५ महिला र ९ जना भारतीइ नागरिक गरी तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हुन्।

सबैभन्दा बढि कञ्चनपुरमा १९६ र कैलालीमा १२७ जना पक्राउ परेका छन्। यस्तै दार्चुला र बैतडीमा ५/५, बाजुरामा ४, बझाङमा तीन, डोटीमा २ र अछाममा एक जना पक्राउ परेका छन्। डडेल्धुरामा भने कोही पक्राउ नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रयोगकर्तामा १६/१७ वर्षको उमेर समूहका युवाहरु बढी रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए। प्रदेश प्रहरीको तथ्यांकअनुसार २ सय २१ मुद्दा लागुऔषध सम्बन्धीका छन्। 

लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउदै आएको छ। तर कारोबारीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले कारोबारी र प्रयोगकर्ता एकै हुने गरेको बताए। सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर र ट्याबलेटको ओसारपसार बढ्दो क्रममा रहेको प्रहरीको दाबी छ।

कमेन्ट लोड गर्नुस