सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिको अनिच्छापछि अदालतमै महान्यायाधिवक्ताको शपथको तयारी

२०७८ साउन १, ०२:३३ खबर संवाददाता

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपति भण्डारी आफैँले अस्वीकार गरेकी छन्।

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन छ। यद्यपि राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्तिथिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी थिइन्।

उनले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन्।  राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो।

महान्यायाधिवक्ता नियुक्त खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथको तयारी भएको जानकारी दिए।

यसअघिका महान्यायधिवक्ताहरुको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले गराउने परम्परा छ। यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशले गराएका थिए।

यद्यपि राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शीतलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको हो।

 

कमेन्ट लोड गर्नुस