सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ पुस्ता अधीर नबनुन् : नेता बाँस्कोटा

२०७८ असार ३१, ०५:१८ रासस

काभ्रेपलाञ्चोक: नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नयाँ पुस्तालाई अधीर नबन्न आग्रह गरेका छन्।

पनौती नगरपालिकालाई बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उनले अधैर्यले सम्पूर्ण क्षेत्र तहसनहस हुने बताए। सांसद बाँस्कोटाले अधैर्यले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यले मात्रै जीवन सफल बन्नेमा जोड दिए। 

पूर्वमन्त्री बाँस्कोटाले भने, “बालबालिकाले धैर्यपूर्वक राजनीतिक चेतना राख्दै देशभक्त बन्नू तर पार्टीभक्त कहिल्यै नबन्नू।” अधैर्यले स्वयं व्यक्तिगत र राजनीतिक दलको उद्देश्यमा ठूलो आघात पुग्ने भएकाले यसको असर हालै भोग्नुपरेको उनको धारणा थियो। 

उनले लामो जीवन किशोरकिशोरीको रहेकाले अबको विकास र सुरक्षा उनीहरुलाई चाहिएको बताए। उनले अघिल्लो सरकारले सुख–समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जनादेशले नभई परमादेशले बहिर्गमन भएको बताए। 

“नेपाली कांग्रेसलाई शुभकामना छ, अबको थप प्रक्रियामा बहुमत पुगोस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम सुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन होऊन्, योजनाका बजेट नकाटियोस्”, उनले भने। 

पार्टीभित्रकै चुनौतीले संविधान सङ्कटमा पर्नसक्ने र पार्टी कमजोर भए लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो। कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमाले पनौती नगरपालिका संयोजक सुरेशप्रसाद हुमागाईँ, कांग्रेसका पनौती नगर सभापति रामशरण भण्डारी, जिल्ला बाल सङ्गठनका अध्यक्ष विदुरप्रसाद हुमागाईँलगायतले नगरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न शुभकामना व्यक्त गरे। 

नगरप्रमुख भीमप्रसाद न्यौपानेले नगरका १२ वडामा ४९ सूचक पूरा गरिएको र नगरमा १६ हजार ५१० बालबालिका रहेको जानकारी दिए। पनौती नगर बालमैत्री स्थानीय शासन घोषणा गर्ने नेपालमा आठौँ, प्रदेशमा चौथो र जिल्लामा दोस्रो भएको छ।

कमेन्ट लोड गर्नुस