सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सांसदले टेबल फाल्दा फाल्दै बजेट पास गरियो

२०७८ असार ३०, ०५:४७ खबर संवाददाता

पोखरा: विपक्षी नेकपा एमालेको विरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ। त्यसक्रममा एमाले सांसदहरुले टेबल उठाएर फालेका छन्।

एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो। यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो।

बिहान ११ बजे बैठक शुरु भयो । मुख्यमन्त्रीले जवाफ माग्दै एमालेले अवरोध गर्‍यो। साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध पर्‍यो, सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन्। एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोके। त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए।

त्यसका बाबजदु सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए भने बहुमतले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेको छ। बजेट १ असारमै आएको भए पनि रातो किताब तयार पार्न नसक्दा २७ गतेदेखि मात्र प्रदेशसभामा छलफल शुरु भएको थियो। गैर–बजेटरी विनियोजन गरेको १६ करोडको विवरण सार्वजनिक गर्न माग गर्दै एमालेले अवरोध गर्‍यो।

दोस्रो दिनपछि बैठक अवरुद्ध भएपछि सरकार र प्रमुख प्रतिपक्षीबीच छानबिनका लागि संसदीय समिति गठन गर्ने सहमति भयो। प्रमुख प्रतिपक्षी दल एमाले सांसदको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने सहमतिसँगै अर्थ मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकलाई सम्बोधन गरेका थिए। उनले सोही दिन बजेट विनियोजन विधेयक पेश गरेका थिए।

कमेन्ट लोड गर्नुस