सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा देउवाको त्यो कार्यक्रम, जहाँ पहिलो पटक सार्वजनिक गरेका थिए ज्योतिषीको भविष्यवाणी

२०७८ असार ३०, ०३:०८ खबर संवाददाता

धनगढी : ०७४ कात्तिक २९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुन्।’ निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै ओलीले अगाडि थपेका थिए, ‘मंसिर १० र २१ गते हुने निर्वाचनमा बुढो रुख ढल्छ। बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ।’

ओली पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा भने चुनाव प्रचारप्रसारका लागि धनगढी पुगेका थिए। ओलीले पालुङटारमा भाषण गरेको दोस्रो दिन बिहान धनगढीमा देउवाको पत्रकार सम्मेलन आयोजना भयो। 

काँग्रेसबाट तपाई अन्तिम प्रधानमन्त्री भनेर विपक्षीहरुले भनिरहेका छन् नि तपाई केही टिप्पणी गर्नुहुन्छ ? भन्ने तत्कालिन दिनेश एफएमकर्मी दीपक जोशीले राखेको जिज्ञासामा देउवाले भनेका थिए, ‘ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन। म फेरी तीन पटक प्रधानमन्त्री हुन बाँकी छ। कम्युनिष्टहरुले भनेर हुन्छ ?’ 

पत्रकार सम्मेलनमा देउवाले अगाडि भनेका थिए, ‘सुदूरपश्चिमबाट जित्ने बित्तिकै मुलुकको प्रधानमन्त्री हुने म मात्रै हुँ। मसंग तपाइहरु झगडा गर्न सक्नुहुन्छ। विरोध गर्न सक्नुहुन्छ। माग गर्न सक्नुहुन्छ। म त तपाईको घरको मान्छे हुँ।’ उनले पत्रकार सम्मेलनमा काँग्रेसले चुनावमा बहुमत ल्याउने पनि दाबी गरेका थिए। 

चुनावमा काँग्रेसले लज्जासपद हार व्यहोरे पनि कांग्रेस सभापति देउवा भने मंगलबार मात्रै पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। सर्वोच्च अदालतले संसद विघटनलाई वदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गरेपछि भण्डारीले देउवालाई प्रधानगमन्त्री नियुक्त गरेकी हुन्। 


 

कमेन्ट लोड गर्नुस