सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा समातिएको रेडपाण्डाको छाला कसरी बन्यो लोखर्केको ?

२०७८ असार २६, ०१:३३ खबर संवाददाता

धनगढीः गत जेठ २५ गते कैलालीमा प्रहरीले रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको भन्ने जानकारी दियो। 

संघीय प्रहरी इकाई कञ्चनपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ स्थित गोदावरी सामुदायिक वनबाट बझाङका एक युवकलाई छालासहित पक्राउ गरेको जानकारी दिइएको थियो।  

प्रहरीले वन्यजन्तुको अखेटोपहार (हाड, छालालगायत वस्तु) बरामद गर्छ तर मुद्दा चलाउन नपाउने भएकाले अभियुक्त र बरामद अखेटोपहार सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयलार्ई बुझाउने गर्छ। 

सोही अनुसार पक्राउ परेका ती युवक र छालालाई कैलाली प्रहरीले डिभिजन वन कार्यालय कैलालीमा बुझाएको थियो। 

त्यसपछि उक्त छाला परीक्षणका लागि वन कार्यालयले विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। जसको रिपोर्ट केही दिनपछि मात्रै आएको थियो। प्रहरीले रेडपाण्डा भनेर बरामद गरेको उक्त छाला रातो राजपङ्खी लोखर्केको भनेर प्रयोगशालाले पुष्टि गरेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कंडेलले बताए।  अब पक्राउ परेका ती युवकमाथि सोही प्रकारको मुद्धा चल्ने उनले बताए। 

यस्तै यही असार २२ गते मात्रै पुनः धनगढीबाट रेडपाण्डाको छालासहित २ जनालाई पक्राउ गरिएको भन्ने जानकारी कैलाली प्रहरीले दिएको थियो। 

तर उक्त छालापनि रातो राजपङ्खी लोखर्केको हुनसक्ने वन्यजन्तु विज्ञहरुले बताएका छन्। यद्यपि उक्त कुरा प्रयोगशालाले नै पुष्टि गर्नेछ। बरामद उक्त छाला विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको डिभिजन वन कार्यालय प्रमुख कंडेलले बताएका छन्।


 

कमेन्ट लोड गर्नुस