सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर माधव समूहले कुनै हालतमा फिर्ता नलिने

२०७८ असार १९, ०५:२४ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिने भएको छ। 

एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले सोमबारसम्म हस्ताक्षर फिर्ता लिए मात्रै पार्टी एकता हुने चेतावनीसहित निर्देशन दिएको छ। माधव नेपालले आफू निकट सांसदहरुसँग छलफल गर्दै हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन्। 

शनिबार नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा पनि नेता नेपालले हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन्। दोस्रो तहका नेताहरुले एकताका लागि छलफल गरे पनि टुंगो लाग्न सकेन। 

शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा रहेका बेला नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका हुन्।

माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए। हस्ताक्षरकर्तामध्ये जुम बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएको विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले जानकारी दिए।

बैठकमा नेता नेपालले हस्ताक्षर र पार्टी एकताबीच कुनै सम्बन्ध नभएको बताएका छन्। जेठ २ अघिकै अवस्थामा पार्टीलाई फर्काए मात्र आफूहरुलाई मान्य हुने माधव नेपाल समूहको तर्क छ। 
 

कमेन्ट लोड गर्नुस