सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाबा ग्यास उद्योगमा कयर खोला पस्यो

२०७८ असार १७, ०३:४० रासस

चितवन: खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ। कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो। उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन्।

उनले भने, ‘यहाँका सिलिण्डर बगाएर सौराहा सम्म पुगेका छन्। बाढीले उद्योगको संरचनामा नोक्सान पुर्‍याएको छ। उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ। के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन।’

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए। स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ।

कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए। लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ। लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उनले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिए।

कमेन्ट लोड गर्नुस