सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण

२०७८ असार ८, ०८:०३ रासस

इस्लामाबाद: पाकिस्तानमा आठ महिना यताकै सबैभन्दा कम कोभिड–१९ को संक्रमण दर देखिएको छ । सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा देशभर कोभिड–१९ को संक्रमण दर १.७ प्रतिशत रहेको उल्लेख छ।

राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो।

पाकिस्तानमा कोभिड–१९ को तेस्रो लहर उच्च रहेका बखत संक्रमण दर ११ प्रतिशतभन्दा बढी भएको थियो।

तर सरकारले व्यापक खोप अभियान सञ्चालन गर्नुका साथै नियन्त्रणका उपाय अबलम्बन गरेपछि संक्रमण हुने दरमा कमी आएको हो। पाकिस्तान सरकारले कोभिड–१९ फैलिन नदिन व्यवसाय, शिक्षाका साथै सामाजिक कृयाकलापमा कडाई गरेको थियो।

एनकोकका अनुसार पाकिस्तानमा हालसम्म नौ लाख ५० हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र २२ हजारको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा पनि २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन्।

पाकिस्तानमा हाल ३३ हजार ४५२ जना सक्रिय संक्रमित छन् भने आठ लाख ९५ हजार संक्रमणमुक्त भएका छन्।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्त कोभिड–१९ बाट सर्वाधिक प्रभावित रहेको छ । यहाँ तीन लाख ४५ हजार व्यक्ति संक्रमित भएका थिए। त्यस्तै दक्षिणी सिन्ध प्रान्तमा पनि तीन लाख ३३ हजार व्यक्ति संक्रमित भएका थिए। 

कमेन्ट लोड गर्नुस