सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वीट्जरल्यान्डमा विषादी निषेध गर्ने बारेमा मतदान

। फोटो स्रोत ।
२०७८ जेठ ३०, ०५:५५ रासस

जेनेभा: युरोपेली मुलुक स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने एक प्रस्तावमा आइतबार मतदान हुँदैछ।

स्वीट्जरल्यान्डमा यो सहित आतंकवाद विरोध उपाय र कोभिड–१९ का कानुन समेत विभिन्न जल्दाबल्दा विषयमा पनि मतदान हुँदैछ।

अधिकांश व्यक्तिले हुलाक मार्फत पहिल्यै मतदान गरिसकेका छन्। आइतबार मतदान सकिए लगत्तै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको छ।

यस पटकको मतदानमा विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने विषय सबैभन्दा पेचिलो बनेको छ । किसानहरुबीच नै यो विषयलाई लिएर तिब्र मतान्तर र बहस जारी छ।

स्वीट्जरल्यान्डका किसानहरु विषादीको प्रयोगका विषयमा पक्ष र विपक्षमा बाँडिएको देखिएको छ । पश्चिमी भड क्षेत्रमा किसानहरुको खेतमै पुगेर एक पक्षले किसानका ट्रेलरमा आगो लगाइदिएका छन् भने हुन्छ भन्ने पक्षमा देखिएका अभियन्ताहरुले आफूहरुमाथि अपमान, धम्की र सन्त्रास फैल्याएको बताएका छन्।

“सिन्थेटिक विषादीबाट मुक्त स्वीट्जरल्यान्ड” भन्ने पक्षधरहरुले १० वर्षभित्र स्वीट्जरल्यान्डमा विषादीमाथि प्रतिबन्ध लगाउन आह्वान गरिरहेको छ।

उनीहरुले विषादी हालेका विदेशबाट आयातित खाद्यवस्तुलाई पनि गैरकानुनी बनाउनु पर्ने माग गरिरहेका छन्।

दोस्रो, “सफा खानेपानी र स्वस्थ खाद्य” नारा लिएका पक्षधरहरुले विषादी प्रयोग नगर्ने फार्महरु तर बिरामी पशुको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरेमा सरकारी अनुदान उपलब्ध गराउनु पर्ने माग गरिरहेका छन्।

खेतमा तरल मलखादको प्रयोगको मात्रा र त्यहाँबाट चुहिने तरल पदार्थ जल प्रणालीमा प्रवेश गर्ने सम्भावनालाई पनि सीमित गर्नुपर्ने हुन्छ।

पर्यावरणविद् र दक्षिणपन्थी राजनीतिक पक्षधरहरुले दुबै मागमा समर्थन जनाएका छन् । स्वीस सरकारले आमजनताले विपक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेको छ।

सरकारको भनाईमा प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भए त्यसले राष्ट्रिय खाद्य सम्प्रभुतालाई नजरअन्दाज गर्नेछ।

शहरी मतदाताहरुले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ, र ग्रामीण क्षेत्रका मतदाताहरुले विपक्षमा मतदान गर्ने मत सर्वेक्षणले देखाएको छ। तर सर्वेक्षणले दुबै प्रस्ताव अस्वीकृत हुन सक्ने अनुमान गरेको छ। 

कमेन्ट लोड गर्नुस