सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक जेष्ठ नागरिकको निःशुल्क उपचार गर्दै सेती अस्पताल

२०७८ जेठ ३०, ०५:४१ खबर संवाददाता

धनगढीः बझाङको जयपृथ्वी नगरपालिका–६ नौराका ६१ वर्षीय धन सिंहको खुट्टामा चोट लागेर डायबिटिज भएको छ। ३ महिना अगाडी शौचालय जाने क्रममा लडेर उनको खुट्टामा चोट लागेको थियो। 

उनी एक विपन्न परिवारका हुन्। आर्थिक अभावका कारण उनले उपचार गर्न नपाउँदा २ महिना घरमै बसेको धन सिंहले बताए। घरमा तातोपानीले सेक्दै बसेको उनी बताउँछन्।

खुट्टामा गहिरो चोट लागेका कारण उनको घुँडा मुनिको खुट्टा मरिसकेको छ। उनको खुट्टा कालो फर्केको छ।

उनको अर्को खुट्टा पनि सुन्निएको छ। यसले झन शरीरमा असर गर्ने भनेपछि श्रीमतीसहित उनी ४ दिन अगाडी सेती प्रादेशिक अस्पताल पुगेका थिए।  

अहिले सेती प्रादेशिक अस्पतालले उनको निःशुल्क शल्यक्रिया गर्ने बताएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार उनको खुट्टामा डायबिटिज भएर गंग्रीन भएको छ। समयमै उपचार नभए शरीरभरी इन्फेक्सन फैलिने खतरा रहेको उनले बताए। 

सेती प्रादेशिक अस्पतालको सामाजिक सुरक्षा सेवा इकाईमार्फत उनको उपचार गरिरहेको बताएका छन्। उनको उपचारका लागि एनेस्थेसिया डा. सरोज आर्याल, अर्थोपेडिक्स सर्जन डा. ललित चौधरी र डा. शिवराज पनेरुको टिमले सहयोग गरेका हुन्। 

सिंहको खुट्टा काट्नुपर्ने बताइएको छ। उनको शल्यक्रियामा १ लाख भन्दा बढी खर्च लाग्नसक्ने अस्पतालले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस