सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाँजा खेती सुदूरपश्चिमका लागि जरुरी, वैधानिक बनाउनुपर्छ : प्रदेश सांसद मल्ल

२०७८ जेठ ३०, १०:४७ खबर संवाददाता

धनगढी:  सुदूरपश्चिम प्रदेशसभाकी सदस्य देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन्।

शनिबार सुदूरपश्चिम सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग गरेकी हुन्। 

‘बझाङमा गाँजा खेती असाध्यै हुन्छ, त्यो हिमाली जिल्ला हो। आयस्रोत, जीवन निर्वाहका लागि पनि असाध्यै जरुरी छ। त्यसमा पनि प्रदेशले धारणा बनाओस्, यहाँबाट केन्द्रीय सरकारलाई प्रदेश सरकारलाई भन्नुपर्ने कुरामा पनि प्रदेश सरकारले धारणा बनाओस्’ उनले भनीन्, ‘गाँजा खेती सुदूरपश्चिम तथा बझाङका लागि जरुरी छ। यसलाई कसरी वैधानिक बनाउने त्यसमा प्रदेश सरकारको ध्यान जाओस्।’  

उनी बझाङबाट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनको क्षेत्रका कतिपय ठाउँमा गाँजा खेती हुँदै आएको छ। तर प्रहरी प्रशासनको नजरमा आएपछि ती खेतहरुमा फडानी हुने गर्छ। 

नेपालले सन् १९७६ मा लागूऔषध नियन्त्रण सम्बन्धी कानुन बनाएपछि गाँजा खेती प्रतिबन्धित छ। उक्त ऐन अनुसार २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै त्यो भन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार जरिवाना हुनसक्ने नियम छ। 
 

कमेन्ट लोड गर्नुस