सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकाले बोलाएको बैठक राजनीतिक दलद्वारा बहिष्कार

२०७८ जेठ २९, ०३:२५ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले बोलाएको बैठक राजनीतिक दलहरुले बहिष्कार गरेका छन्। शुक्रबार नगरप्रमुख भीमबहादुर देउवाको कार्यशैलीप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका उनीहरुले शनिबार राजनीतिक दलहरुसँगको बैठक समेत बहिष्कार गरेका हुन्। 

नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेशराज जोशीका अुसार नगर कार्यपालिकाको बैठकमा बहुमत सदस्यहरुले बहिष्कार गरेका थिए। ‘नगर प्रमुखले बजेट वितरणमा बद्मासी गर्दै आएका थिए। फेरिपनि त्यो क्रम रोकिएन्’ उनले भने, ‘आज राजनीतिक दलहरुको बैठक थियो। हामीले बहिष्कार गरेका छौ।’

नगरप्रमख देउवाले गिट्टी–बालुवा संकलनमा आर्थिक हिनामिना गरेको, योजना वितरणमा मनोमानी गरेको, नगरपालिकाको काम पारदर्शी नभएको, स–साना योजनाहरु वडाहरुमा अध्यक्षलाई समेत जानकारी नदिएर पठाइएको, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल समेत नगरेको भन्दै उनीहरुले बिरोध गरेका हुन्। 

गौरीगंगा नेकपा एमाले अध्यक्ष विष्णु आर्चायले ५ राजनीतिक दलहरुले बैठक बहिष्कार गरेको बताए। उनले नगरप्रमुख देउवाले मनोमानी काम गरेका आरोप समेत लगाए। 

गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर बिकले गिट्टी–बालुवा संकलनमा समेत नगर प्रमुख देउवाले बद्मासी गरेको आरोप लगाएका छन्। ‘गिट्ट–बालुवा संकलनका लागि ठेक्का लगाइएको छैन्। ८० प्रतिशत नगरपालिकालाई दिने र २० प्रतिशत युवाहरुका लागि भनिएको हो’ उनले भने, ‘तर त्यो रकम पनि नगरपालिकामा सबै आएको छैन। नगरपालिकाका अन्य आयस्रोतको बारेमा समेत जानकारी दिइएको छैन।’

नगरपालिकामा २१ सदस्यीय कार्यपालिका छ। तर १४ जनासदस्यहरुले नगरपालिकाले बोलाएको बैठक बहिष्कार गरेका थिए। बहुमत सदस्यहरुको मागलाई समेत नगरपालिका प्रमुख देउवाले अटेरी गरेको उनीहरुले बताएका छन्। 

यता नगरप्रमुख भीमबहादुर देउवाले आफू बैठकमा रहेको भन्दै प्रतिक्रिया दिन मानेनन्। 

कमेन्ट लोड गर्नुस