सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीको सम्पत्ति मोह, सरकारी निवासको बाथरुमको ऐना समेत लगे

२०७८ जेठ २८, ०६:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रीको सरकारी निवासस्थित बाथरुममा लगाइएको ऐना समेत घर लगेको पाइएको छ।

गत जेठ १४ गते मन्त्री पदबाट राजीनामा दिएका सुवेदीले मन्त्रीको सरकारी निवासबाट बाहिरिँदा निवासमा रहेका फर्निचरलगायतका सामानहरु आफ्नो घर लगेको स्रोतले बताएको छ।

पूर्वमन्त्री सुवेदीले मन्त्रीको सरकारी निवासबाट म्याट्रेस, तन्ना, सोफा, कुर्सी, टेबल, रेप्र्रिीजेरेटर, टेलिभिजन, गलैँचा, सिरक र भन्साका सामानहरु घर लगेको स्रोतले बताएको छ।

मन्त्री पदबाट हटे लगत्तै मन्त्रीले सरकारी सुविधाको रुपमा पाएको सवै सुबिधा फिर्ता गर्नुपर्ने भएपनि मन्त्री सुवेदीको निजी सचिवालयका लागि सरकारले उपलब्ध गराएको २ थान ल्यापटप र मोटरसाइकल पनि मन्त्रालयमा अहिलेसम्म फिर्ता नगरेको मन्त्रालय स्रोतले बताएको छ।

पूर्वमन्त्री सुवेदीले भए भरका सामानहरुसँगै लगेपछि हाल नव नियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काका लागि प्रदेश सचिव रघुराम विष्टको सचिवालयबाट फर्निचरलगायतका सामग्री लगेर व्यवस्थापन गरेको बताइएको छ।

तर पूर्वमन्त्री सुवेदीले आफूले कुनै पनि सामान सरकारी निवासबाट घर नलगेको दाबी गरेका छन्। 

कमेन्ट लोड गर्नुस