सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कोरोना सङ्क्रमण घट्दै

२०७८ जेठ २८, ११:५४ रासस

कञ्चनपुर: कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ। निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो। सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ। मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ। बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो। 

स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन्। आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ। हालसम्म पोजेटिभको सङ्ख्या सात हजार ४६६ रहेकामा निको भई घर फर्केकाको सङ्ख्या ६ हजार ७८६ रहेको छ।

हालसम्म २२ हजार ९९ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये २२ हजार ३६ जनाको नतिजा प्राप्त भएको छ। पश्चिमी सीमानाका गड्डाचौकीमा एन्टिजेन परीक्षण नौ हजार ७०१ जनाको गरिएकामा जसमध्ये ५४९ जनाको नतिजा पोजेटिभ आएको छ। 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै वैशाखयता मात्रै पाँच हजार ९३ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये चार हजार ८५३ जनाको नतिजा प्राप्त भएको छ। प्राप्त नतिजामा तीन हजार ३५८ सङ्क्रमित देखिएका छन्। सोही अवधिमा निको हुनेको सङ्ख्या तीन हजार ४१ रहेको छ।

वैशाखयता १४ हजार ४२८ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये दुई हजार १६५ जनाको नतिजा पोजेटिभ आएको छ। 

कमेन्ट लोड गर्नुस