सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीडित राउटे युवतीहरुको स्वास्थ्य परीक्षण गरिने, मदिरा खुवाएर बेहोस बनाइएको खुल्यो

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २७, ०५:०२ खबर संवाददाता

काठमाडौं:  होटेलमा लगेर यौन दुर्व्यवहार गरिएका राउटे समुदायका युवतीहरुको स्वास्थ्य परीक्षण हुने भएको छ।  स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको हो। 

महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगको कर्णाली प्रदेश कार्यालय, जुम्लाका सूचना अधिकारी किरण बरमले बताए।  लामो प्रयासपछि राउटे मुखिया दुर्व्यवहारमा परेका दुई युवती लिएर सदरमुकाम आउन सहमत भएको उनले बताए। 

राउटेहरू आफ्नो समुदायका युवतीमाथि घटेको घटनाबारे भने अझै अनभिज्ञ रहेको बताइएको छ। राउटे समुदायलाई थाहा नदिएर पीडित युवतीलाई परामर्श गरी स्वास्थ्य परीक्षण गरिने आयोगले जनाएको छ। 

आयोगका अनुसार पीडित युवतीले आफूहरूलाई स्थानीय युवाले अत्यधिक मात्रामा मदिरा खुवाएर बेहोस बनाएको बताएका छन्। 

ती युवतीहरुलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरिसकेको छ। 

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस