सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना विरूद्धको खोप लगाउनेहरूको थामिनसक्नु भिड

२०७८ जेठ २६, ०४:५१ खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना भाइरस विरूद्धको खोप लगाउनेहरूको अव्यवस्थित भिड देखिएको छ। 

धनगढीस्थित रङ्गशालामा जेठ २५ गते मङ्गलबारदेखि चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै छ। खोप लगाउने कार्यक्रम व्यवस्थित नहुँदा भिड बढेको हो।

सरकारले यस पटक खोप लगाउन ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखेको छ। तर रङ्गशालास्थित खोप केन्द्र सो उमेर समूहबाहेक सबै उमेर समूहका नागरिकहरू थामिनसक्नु भिड लाग्ने गरेको छ। 
यसरी अव्यवस्थित भिडभाड गरिँदै कोरोना भाइरस संक्रमणको जोखिम भने झनै बढेको छ।  

कोरोना महामारी विकराल रूपमा फैलिरहेका बेला अहिलेसम्म कोरोनाको कुनै पनि औषधि पत्ता नलागेकाले खोप प्रति मानिसहरूको आकर्षण बढेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीले भने भिडलाई नियन्त्रण गर्न र खोप सञ्चालन कार्यलाई व्यवस्थित गर्न बिहानैदेखि सुरक्षाकर्मी खटाइएपनि नियन्त्रण नभएको बताएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले खोप प्रतिको नागरिकहरूको आकर्षणका कारण भिडभाड बढेको बताएका छन्। ‘पहिला मानिसहरू खोप लगाउन डराउँथे अहिले खोप प्रति आकर्षण बढेको छ। त्यसैले भीडभाड बढेको हो’ उनले भने।

यद्यपि भिडभाडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी खटाइएको प्रशासनको भनाई छ।
 

कमेन्ट लोड गर्नुस