सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दैनिक सङ्क्रमितको संख्या एक लाखभन्दा कम

२०७८ जेठ २६, ०४:४५

नयाँ दिल्ली: भारतमा कोरोना भाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ। 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। लामो समयपछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। 

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो। त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ। भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ। 

पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ। -एएनआई
 

कमेन्ट लोड गर्नुस