सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

२०७८ जेठ २४, ११:४३ रासस

मुल्तान: पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ। 

स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवम् स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते तथा मृतकका शव बाहिर निकालेका छन्। मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ। 

सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए।

मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए। उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए।

अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृत्यु भएको बताए। रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए। घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाई छ। –एपी  
 

कमेन्ट लोड गर्नुस