सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘यौन दुर्व्यवहारमा परेका राउटे युवतीको ज्यान जोखिममा’

२०७८ जेठ २४, १०:३६ खबर संवाददाता

काठमाडौं : होटेलमा लगेर यौन दुर्व्यवहार गरिएका राउटे समुदायका युवतीहरुको ज्यान नै जोखिममा पर्नेसक्ने देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। साथै आयोगले युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको समेत जनाएको छ। 

घटनापछि आइतबार विज्ञप्ति जारी गर्दै राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ। ‘उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको छ’  विज्ञप्तिमा भनीएको छ। 

आयोगले पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनीहरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ।  

यसअघि पनि ती दुई युवतीहरूलाई राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाएको अनुगमनबाट जानकारी प्राप्त भएको आयोगले जनाएको छ। 

ती युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट गुर्भाकोट नगरपालिकाका ३५ वर्षका दोमनबहादुर घर्ती, २४ वर्षका भुपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरिसकेको छ। 

सम्बन्धित समाचार :
राउटे युवतीलाई मदिरा सेवन गराई भिडिओ बनाउने ३ जना पक्राउ

कमेन्ट लोड गर्नुस