सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट संघीय मन्त्रीका लागि राना र बोहरा किन प्रबल दाबेदार ?

२०७८ जेठ २४, ०८:३५ खबर संवाददाता

धनगढीः संघीय मन्त्रिमण्डल पुनर्गठन हुँदै गर्दा सुदूरपश्चिमबाट मन्त्री हुने अनुहारहरुको चर्चा परिचर्चा बढेको हो।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउदै १० जनालाई मन्त्री बनाएका थिए। आफ्नै दल नेकपा एमालेका केही मन्त्रीहरुलाई हटाएका थिए। अब ७ वटा मन्त्रालयहरु अझै खाली छन्। प्रत्येक प्रदेशबाट एक-एक जनालाई मन्त्री बनाइए सुदूरपश्चिम प्रदेशबाट पनि मन्त्री बन्ने हुँदा सम्भावित अनुहारबारे चर्चा भइरहेको हो।

नेकपा एमाले स्रोतका अनुसार सुदूरपश्चिमबाट पूर्व माओवादी पृष्ठभूमिका नेताहरुलाई पनि स्थान दिइने सम्भावना बढेको छ। यदि पूर्व माओवादी पृष्ठभूमि भएकालाई स्थान दिएको अवस्थामा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको नाम अग्रपंक्तिमा रहेको बताइएको छ। माओवादी पृष्ठभूमिका नेता लेखराज भट्टको विशेष पहलमा बोहरालाई मन्त्रीको लागि सिफारिस गरिएको नेकपा एमाले स्रोतले बताउँछ।

पूर्वमन्त्री बोहराले पनि नाम अझै टुंगो नलागेपनि छलफल जारी रहेको बताउँछन्। तर पार्टीभित्रका जोसुकैलाई भएपनि सुदूरपश्चिम प्रदेशबाट एक जनालाई मन्त्री बनाइने बताए। साविक नेकपा विवादपछि बोहराले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारबाट राजीनामा दिएका थिए। अछामबाट निर्वाचित भएका उनी नेकपा एमालेमा प्रवेश गरेपछि माओावादी केन्द्रबाट निस्कासित भइ हाल प्रदेश सभा सदस्य पद गुमाएका छन्।

प्रतिनिधि निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं। ५ मा कांगे्रस सभापति देउवा पत्नी डा। आर्जु राणालाई पराजित गरेका नारदमुनि रानाको नाम पनि मन्त्रीको लागि चर्चामा छ। विगतमा पनि मन्त्री बन्ने चर्चा भएपनि हालसम्म मन्त्री नभएका र यदि पूर्व माओवादी पृष्ठभूमिका नेतालाई मन्त्री नबनाएको अवस्थामा रानाको सम्भावना उत्तिकै बढी छ।

नेता रानाले हालसम्म सम्भावना र दाबी कुरा मात्रै भएको र छलफल जारी रहेको बताए। औपचारिक रुपमा पत्र नपाएसम्म भन्न सकिने अवस्था भने नभएको उनको भनाइ छ।

उसो त नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापा, कञ्चनपुरकी निरु पाल, बाजुराका लालबहादुर थापाको नाम पनि चर्चामा रहेको छ। मन्त्रीहरुको नाम आजै टुंगो लाग्न सकिने एमाले स्रोतले बताएको छ।

कमेन्ट लोड गर्नुस