सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी लडाकु बसेको कैलालीको सहजपुर शिविर कब्जा गर्ने चलखेल

। फोटो स्रोत ।
२०७८ जेठ २३, ०६:५५ खबर संवाददाता

धनगढीः सशस्त्र द्वन्द्वका बेला माओवादी लडाकुहरुले प्रयोग गर्दै आएको कैलालीमा रहेको सातौँ डिभिजन अन्तर्गतको सहजपुर शिविरलाई कब्जा गर्ने चलखेल सुरु भएको खुलेको छ।

 शिविरभित्रको सरकारी जमिनलाई निजी भन्दै खरिदबिक्री गर्न खोजेको स्थानीयको गुनासो छ। साथै शिविरलाई सुरक्षा दिंदै आएको सशस्त्र प्रहरीको क्याम्प नै हटेपछि चोरी तस्करी समेत बढेको त्यहाँका जनप्रतिनिधिले बताएका हुन्। 

कैलालीको चुरे गाउँपालिका–३ मा रहेको तत्कालीन नेकपा माओवादी लडाकुहरुले आश्रयको रुपमा प्रयोग गरेको सहजपुर शिविर सरकारी स्वामित्वको जमिनमा भएपनि अहिले आएर पुरै शिविर नै व्यक्तिको नामको भएको भन्दै कब्जा गर्ने चलखेल भएको छ। 

७८ हेक्टर क्षेत्रफल ओगटेको सहजपुर शिविर र शिविरभित्र निर्माण गरिएका संरचनाहरु सरकारी भएपनि शक्ति र सत्ताको आडमा केही व्यक्तिहरुले पुरै शिविर व्यक्तिको नाममा रहेको भन्दै खरिदबिक्रीको तयारी समेत गरिन लागेको स्थानीयले बताएका छन्।  

नेकपा माओवादी केन्द्रबाट गोदावरी नगरपालिका मेयर पदका प्रत्यासी गोकर्ण भट्टले सहजपुर शिविर नै स्थानीय हर्कबहादुर शाहको नम्बरी जमिन भएको दाबी गरेका छन्। ‘अष्ट्रेलियामा रहेका शाहले जमिन विक्री गर्ने भनेपछि हेर्न म हेर्न मात्रै गएको हुँ। त्यतिबेला शाहले लडाकुहरुको आश्रयका लागि दिएका थिए’ भट्टले भने। 

तर चुरे गाउँपालिकाका जनप्रतिनिधिले भने शिविरभित्रको पुरै जमिन सरकारी भएको बताउँदै आएका छन््। शिविरबाहिर करिब ११÷१२ रोपनी जमिन हर्कबहादुर शाहले उपभोग गर्दै आएपनि उपभोग भइरहेको जमिन समेत नम्वरी नभएको जनप्रतिनिधिले बताएका हुन्।

चुरे गाउँपालिकाको वडा नम्वर ३ का वडाअध्यक्ष टेकबहादुर शाहले थोरै जमिन मात्र अष्ट्रेलियामा रहेका शाहको रहेको र भौतिक संरचना बनेको क्षेत्र सरकारी भएको बताए। साथै यसअघि सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएकोमा अहिले सशस्त्र प्रहरीको क्याम्प नै हटाइएपछि शिविरभित्र चोरी बढ्दै गएको उनले जानकारी गराए।

केही समयअघि गोकर्ण भट्टसहितको टोली सहजपुर शिविर पुगेर घरसहित जमिन किनेर उद्योग खोल्न लागेको भन्दै एउटा घरमा ताला नै लगाएर फर्किएको स्थानीय बताउँछन्। 

भट्टले भने जमिन हेर्न गएको तर ताला लगाएको विषय सही नभएको जिकिर गरेपनि शिविरभित्रको जमिन भने व्यक्तिको भएको दाबी गरिरहेका छन्। 

तर चुरे गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्षका प्रत्यासी खगेन्द्र कडायतले खेलमैदानबाहिर शाहको जमिन रहेको भन्ने बुझिएपनि शिविर भने सरकारी नै भएको दाबी गरेका छन्। ‘गोकर्ण भट्टसहित केही व्यक्ति आएर यो घर र जमिन म किन्दैछु भनेर ताला लगाएर गएको सुन्नमा आएको छ’ उनले भने। 

तत्कालीन नेकपा माओवादी लडाकुहरुले उपयोग गर्दै आएको शिविर सरकारी हो या व्यक्तिको भन्ने विषय यतिबेला विवादमा तानिएको छ।

कोरोना महामारीले विकराल रुप लिइरहेको अवस्थामा शिविरको सुरक्षामा तैनाथ सशस्त्र प्रहरीसहित क्याम्प नै हटाइएपछि शिविरभित्र चोरी बढेको भन्दै सुरक्षाको माग समेत गरिएको छ।
 

कमेन्ट लोड गर्नुस