सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

२०७८ जेठ २२, ०४:११

नयाँ दिल्ली: दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ। 

दिल्ली सहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुस्टि गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उनी निकट अधिकारीहरूले शनिबार बताएका छन्।

यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ। सम्मेलनमा आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोना भाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिने बताइएको छ। 

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ। किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ। सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो। 

दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो। -पीटीआई
 

कमेन्ट लोड गर्नुस