सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित

२०७८ जेठ २२, ०३:५९

नयाँ दिल्ली: भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ। 

पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो। सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ। भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन्।  

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ। योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ। 

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन्। कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ। -एएनआई

कमेन्ट लोड गर्नुस