सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता अध्यादेश बदरको माग राख्दै सर्वोच्चमा मौलिक जरोकिलो पार्टीको रिट

२०७८ जेठ २०, ०३:१२ खबर संवाददाता

काठमाडौं : मौलिक जरोकिलो पार्टीले सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। संसदमा विचाराधिन रहेको नागरिकता सम्बन्धि विधेयक संसद विघटन भएको समयमा रातारात ल्याएको भन्दै उक्त रिट दायर गरिएको हो।

पार्टीका उपमहासचिव तथा अधिवक्ता लक्ष्मण पोखरेलले नेपालको संविधान २०७२ को धारा ११४ को मर्म र भावना प्रतिकूल भई संविधानको प्रस्तावना, प्रचलित मूल्य र मान्यताको समेत विपरित रहेको भन्दै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ विरुद्ध उत्प्रेषणयुक्त परमादेश जारी गर्न उक्त रिट दायर गरेका हुन्।

‘राष्ट्रको अस्तित्वसंग जोडिएको नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयलाई सत्तावृत्तमा रहेका दलहरूले सत्ताको लेनदेनको विषय बनाएका छन् । यसको मौलिक जरोकिलो पार्टीले आवश्यक प्रतिवाद गर्नेछ। यो सुरुवात मात्रै हो। ‘ पार्टी अध्यक्ष सुशील गौतमले बताए।

वि. सं. २०७७ असार १४ गते प्रधानमन्त्री खड्गप्रसाद ओली तथा सभामुख अग्निप्रसाद सापकोटालाई राष्ट्रिय नागरिकता नीति बनाएर मात्रै नागरिकता दिने कानुन बनाउन ज्ञापनपत्र बुझाएको थियो।

पार्टी प्रवक्ता मित्रलाल शर्माद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ। मौलिक जरोकिलो पार्टीले स्थापनाकालदेखि कडा व्यक्तिगत पात्रता परिक्षण गरेर मात्र नागरिकता प्रदान गर्ने ‘राष्ट्रिय नागरिकता नीति’ बनाउनुपर्ने मुद्दा उठाउँदै आएको छ।

 

कमेन्ट लोड गर्नुस