सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रतिनिधिबाटै निषेधाज्ञाको उल्लंघन, उद्घाटन कार्यक्रममा गए मेयर र वडाअध्यक्ष

२०७८ जेठ २०, १२:३२ खबर संवाददाता

धनगढी:  कैलाली प्रशासनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन्।

सो अवधिमा कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार तथा मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने भनीएको छ। 

तर उक्त आदेश मिच्दै कैलालीका जनप्रनिधि भने उद्घाटन कार्यक्रममा सहभागी बनेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर–१ का वडाध्यक्ष जनक बम निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन्।

नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा वडा नम्बर १ मा रहेको निर्मित बसपार्कको उद्घाटन गरेका छन् भने वडा नम्बर १ को कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जनक बम लगायतका जनप्रतिनिधि पनि सहभागी भएका थिए।

ती कार्यक्रममा ठूलो संख्यामा मानिसहरु सहभागी भएको स्थानीयले बताएका छन्। उक्त विषयमा प्रतिक्रिया माग्दा खोज्दा मेयर बजगाईले आफुहरुले सामाजिक दुरी कायम गरेर उद्घाटन कार्यक्रममा सहभागी भएको बताएका छन्। 

उक्त विषयमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जनप्रतिनिधिहरुबाट निषेधाज्ञाको उल्लङ्घन हुनु दुःखद भएको बताएका छन्। उनले कार्यक्रमबारे जानकारी पनि नभएको बताएका छन्। 


 

कमेन्ट लोड गर्नुस