सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विकासमा भद्रगोल, सहरी विकासले निर्माण गरेको सडक भत्कियो

२०७८ जेठ १९, ०६:५५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीभित्र यतिबेला विकासको प्रक्रिया नै भद्रगोल बन्न पुगेको छ।

संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेर सडक, पुल, नाली लगायत निर्माण प्रक्रिया अघि बढाएको भएपनि कतै सडक भत्काएर छोडिएको छ भने कतै भत्काउन सुरु गरिएको छ। 

त्यति मात्र होइन सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईले निर्माण गरेको सडक भत्किएपछि यतिबेला टालटुल गर्ने काम भइरहेको छ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सहर हो धनगढी। प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीभित्र यतिबेला दर्जनौ विकास निर्माणका काम भइरहेको भएपनि अधिकांश स्थानमा सडक स्तरोन्नतीको नाममा सडक भत्काएर छोडिएको छ भने कतै भत्काउन सुरु गरिएको छ। 

संघ, प्रदेश र धनगढी उपमहानगरपालिकाले भत्काएर छोडिएका सडकहरुको निर्माण नहुँदा नगरवासीले हैरानी खेप्नु परेको छ। यसअघि सहरी विकासले निर्माण गरेको नवजीवन अस्पताल आसपासको सडक भने निर्माण सम्पन्न भएको छोटो समयमै भत्किएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर मोहन अवस्थीले सहरी विकासले नै उक्त सडक निर्माण गरेको भएपनि भत्किनुको कारण निर्माण लागत र निर्माण सम्पन्न मिति नै हो भनेर भन्न सकिने अवस्था नरहेको बताए।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि ठुला, मझौला र साना गरी सयौँ योजनासहित बजेट विनियोजन गरेको भएपनि अधिकांश योजनाको निर्माण अझै सुरु भएको छैन। होटल डिभोटी, हसनपुर, तारानगर, उत्तरबेहडी सडक भत्काएर छोडिएको छ। क्याम्पस रोडदेखि धनगढी चौराहसम्म सयौँ स्थानमा सडक भत्किएको भएपनि कहिकतैबाट मर्मत सम्भारको काम हुन सकेको छैन। 

एक हजार भन्दा बढी लेखा सुत्र प्रणालीअनुसार नगरसभाबाट पारित भएका आधा योजनाहरुको निर्माण अझै सुरु हुन सकेको छैन। तर धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बैशाख जेठदेखि नै निर्माणको प्रक्रिया थालनी हुने भएकाले बाँकी योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताए। 

उनका अनुसार कतिपय स्थानमा निर्माणको क्रममा हुने विवादका कारण पनि योजना कार्यान्वयनमा ढिलाई हुने गरेको छ।

कतिपय निर्माण कम्पनीले गुणस्तरहिन सडक निर्माण गर्ने प्रवृत्तिका कारण निर्माण सम्पन्न नहुँदै सडक भत्किने र यसले राज्यकोषको दोहन मात्र हुने गरेको पाइएको हो। नवजीवन अस्पताल आसपास निर्माण गरिएको सडक नगरवासीले उपयोग गर्न नपाउँदै भत्किएपछि उपमहानगरपालिकाले यतिबेला उक्त स्थानमा टाँल्ने काम गर्दै आएको वडा नम्बर ४ का वडाअध्यक्ष दिपक थापाले दाबी गरे।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्रै कार्यान्वयन गर्ने गरी ११ सय विकास निर्माणका योजनाहरुका लागि बजेट विनियोजन गरेको छ। 

पूर्वाधार निर्माण मात्र नभएर कला, संस्कृति लगायत शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, महिला सशक्तिकरण, रोजगारी सिर्जना लगायत दर्जनौ योजनाका लागि भन्दै एक अर्व ६३ करोड ८२ लाख बजेट विनियोजन गरेको भएपनि विकासको महसुस हुने गरी कुनै काम नभएको नगरवासीले गुनासो गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस