सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालमै अक्सिजन उत्पादन

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ १८, ०६:२७ रासस

लमजुङ: लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ।

जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन शुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए।

उनका अनुसार अस्पतालमा निर्माण गरिएको अक्सिजन सहितको २५ शय्यामा हाल १९ कोरोना सङ्क्रमित अन्य तीन बिरामी छन्।

यो प्लान्ट जडानसँगै यस अघि दैनिक ३०÷३२ वटा अक्सिजन भर्न पोखरा जानुपर्ने अवस्थामा कमी आएको छ।

अब अपुग दैनिक १५-१६ वटा सिलिण्डर अक्सिजन पोखराबाट ल्याए पुग्ने छ।

उत्पादित अक्सिजन पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेसन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने साथै अस्पतालका ८३ शय्यामा नै जोडिने छ।

हाल कोरोना सङ्क्रमितका लागि मात्र सो अक्सिजन प्रयोग गर्ने अस्पताल प्रमुख श्रेष्ठले बताए।

सो प्लान्ट गण्डकी प्रदेश सरकारको ५५ लाख रुपैयाँमा ओटु कन्सर्नलाई खरिद जिम्मा दिएर ल्याइएको थियो।

प्लान्ट स्थापना गर्ने घर साढे ८ लाख रुपैयाँमा प्रदेश सरकारकै लगानीमा निर्माण भएको छ।  

प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्मााणका लागि गत मङ्सिर महिनामा रु ७५ लाख पठाएकोमा सो सामग्री र घर गरेर साढे ६३ लाख रुपैयाँ मात्र खर्च भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।

कमेन्ट लोड गर्नुस