सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सारथी अस्पतालले बिना कारण स्टाफ नर्स निकाल्यो

२०७८ जेठ १७, ०८:२९ खबर संवाददाता

धनगढीः धनगढीस्थित सारथी अस्पतालले एक जना आफ्नै स्टार्फ नर्सलाई जागिरबाटै निकालेको छ।

अस्पतालमै कार्यरत स्टार्फ नर्स मञ्जिला चौधरीलाई जागिरबाटै निकालेको हो।

स्टार्फ नर्स चौधरीका अनुसार उनी बैशाख २२ गतेदेखि सारथी अस्पतालमा कार्यरत थिइन्।

उनी जेठ १५ गते बिहान डिउटीको क्रममा अस्पताल पुगेकी थिइन्। उनले चलाउँदै आएको स्कुटी अस्पतालको पार्किङमा राखेकी थिइन्।

त्यसैबेला अस्पतालको लागि आएको अक्सिजन सिलिण्डर झार्ने बेला २ वटा अक्सिजन सिलिण्डर उनको स्कुटीमा खस्दा स्कुटीको पछाडिको भाग भाँचिएको चौधरीले बताइन्।

तर मर्मतको लागि पटक–पटक अस्पताल प्रशासनलाई आग्रह गर्दा बेवास्ता गरेको र उल्टै अब काममा नआउनू भन्दै हप्काएर कामबाटै निकालेको चौधरीले दुखेसो सुनाइन्। 

उनले भनिन् “मैले पटक–पटक अस्पतालका प्रबन्ध निर्देशक सरलाई मर्मतको लागि आग्रह गर्दा मर्मत मात्रै गरिदिन्छौ भन्नुभयो। तर मर्मतको लागि कुनै चासो नै राख्नुभएन। उल्टै तल्लो स्तरको अपशब्द प्रयोग गर्दै अबदेखि काममा तिमी नआउनू भनेर नराम्रो व्यवहार गरियो।”

पीडित चौधरीले स्कुटीको पछाडिको भाग भाँचिदा मर्मत सम्भारमा १४ हजार खर्च लाग्ने बताइन्। तर कामबाटै निकाल्नु आपत्तीजनक रहेको उनको भनाइ छ।

उनले अगाडि थपिन् “मर्मत मात्रै गरिदिए के हुन्थ्यो र ? मेरो पनि सम्पत्ति हो नि। तर सवैभन्दा दुःख लाग्दो कुरा त मर्मतको लागि अनुरोध गर्दा तल्लो स्तरको व्यवहार गर्नु र काममा नै नआउनू भनियो।”

सारथी अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले मर्मतको विषयमा विवाद भएको स्वीकार गरेका छन्।

तर लकडाउनका कारण स्कुटीमा प्रयोग हुने उपकरण नपाएपछि ढिला भएको उनको भनाइ छ। स्कृटी मर्मत गरिदिने र स्टाफ नर्स चौधरीलाई काम गरेबाफताको पारिश्रमिक लिएर जानू भनेर भनिदिएको जोशीले उल्लेख गरे।
 

कमेन्ट लोड गर्नुस