सुदूर नेपाललाई विश्वसँग जोड्दै

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ १७, ०८:३९ रासस

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। 

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए। 

दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए। टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ। 

मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै थिए। दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ। उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार थिए।
 

कमेन्ट लोड गर्नुस