सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘अध्ययन’को नाममा मनलाग्दी, कृष्णपुरको भैँसी फार्म टीकापुर पुग्यो !

२०७८ जेठ १५, ०२:०५

वीरेन्द्र भट्ट
धनगढीः आर्थिक वर्ष २०७६÷२०७७ मा कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्र नमुना भैंसी फार्म स्थापना गर्ने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ करोड बजेट छुट्याएको थियो। तर त्यो कार्यक्रम हाल कैलालीको टीकापुर सारिएको छ।

प्रदेश सरकारले आफ्नो लोकप्रिय कार्यक्रमको रुपमा कञ्चनपुरको कृष्णपुरमा स्थानीय तहसँगको लागत साझेदारीमा नमूना भैंसी फार्म सञ्चालन गर्ने कार्यक्रम ल्याएको हो। तर कार्यक्रम सञ्चालन हुनुु त परैजाओस्, अन्तै सारियो। 
पशुपंछी तथा मत्स्य विकास निर्देशनालयबाट फार्म सञ्चालनका लागि कार्यविधि बनाएर मन्त्रीपरिषदमा पठाइसकेको अवस्थामा अहिले आएर त्यो कार्यक्रम नै टीकापुर सारिएको स्थानीयको गुनासो छ। 

मन्त्रालयले ४ करोडको लागतमा नमुना भैंसी फार्म स्थापना गर्न नगरपालिकासँग छलफल समेत चलाएको थियो। तर अध्ययन, अनुसन्धान र छलफलको नाममा करिव ६ लाख रुपैयाँ सकेर चालु आर्थिक वर्षका लागि २ करोड बजेट विनियोजन गरी अहिले त्यो कार्यक्रमलाई कृष्णपुरबाट टीकापुर सारिएको हो। 

नेपाली काँग्रेसबाट कृष्णपुर नगरपालिकाका मेयर पदका प्रत्यासी हेमराज ओझाले कृष्णपुरमा भैंसी फार्म स्थापना नहुँनुमा यहाँको स्थानीय तह जिम्मेवार रहेको बताए। उनले स्थानीयसँग कुनै छलफल नै नगरी यति ठूलो योजना तुहाउने काम भएको भन्दै भैंसी फार्म स्थापनाका लागि जग्गा नपाएको भन्ने विषय बाहना मात्र भएको बताए।

भैसी फार्म स्थापनाका लागि स्थानीयसँग छलफल र गहन अध्ययन अनुसन्धान हुनुपर्नेमा कुनै काम नभएको समेत उनको भनाइ छ।

गोदावरीको भैंसी पालन पनि अलपत्र
गत आर्थिक वर्षमा प्रदेश सरकारले कैलालीको गोदावरीमा समेत भैंसीपालनलगायत विभिन्न ठाउँमा गाई, बंगुर, कुखुरा, भेडालगायत फार्म सञ्चालनका लागि २ करोड १५ लाख विनियोजन गरेको थियो। तर हाल सो कार्यक्रम नै अलपत्र परेको छ।

उल्टै कार्यक्रम सञ्चालनको नाममा २ लाख सक्ने काम मात्र भयो। गोदावरी र कृष्णपुरमा फार्म स्थापनाका लागि जग्गा खोज्ने, मोडेल तयार गर्ने काम समेत नभएर लाखौ रकम छलफलको नाममा सिध्याउने काम मात्र भएको पाइएको हो।

व्यावसायिक रुपमा दुध प्रशोधन गरी विभिन्न परिकारहरु बनाएर बजारमा पठाउने गरी फार्म सञ्चालन गर्ने कार्यक्रम ल्याइएको भएपनि कुनै काम हुन सकेन। 

तर पशुपंछी तथा मत्स्य विकास निर्देशनालय डोटीका सूचना अधिकारी पुष्कर नाथले कृष्णपुर भैंसी फार्म स्थापनाका लागि अध्ययन अनुसन्धान भएको तर जग्गा नपाउने अवस्थाले टीकापुर लैजानु परेको बताए। उनकाअनुसार चालु आर्थिक वर्षका लागि २ करोड बजेट विनियोजन भएकाले टीकापुरमा काम भइरहेको बताए। 

यद्यपी कृष्णपुर र अत्तरियामा भैसी पालनका लागि छलफल गरेर ५÷६ लाख सकिएपनि अपेक्षाकृत रुपमा काम हुन नसकेको अधिकारीहरु बताउँछन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उन्नत जातका भैंसी खरिदका लागि ३० लाख र राँगो खरिदका लागि २ लाख रुपैयाँ अलग्गै छुट्याएको थियो। तर एउटा राँगो खरिद गरेर बाँकी कार्यक्रम नै अलपत्र अवस्थामा छोडिएको हो।

मिटमार्ट योजना टुक्रा–ट्क्रा
त्यस्तै सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा मिटमार्ट सञ्चालन गर्न थप एक करोड ५० लाख छुट्याएकोमा अहिले त्यो कार्यक्रमलाई टुक्राटुक्रामा विभाजन गरिएको छ। पशुपंछी तथा मत्स्य विकास यान्त्रीकरण सहयोग गर्न ३ करोड रुपैयाँ छुट्याएकोमा कोभिडलाई कारण देखाएर मन्त्रालय र निर्देशनालय जिम्मेवारीबाट पन्छिएका हुन्। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीले समेत अघिल्लो आर्थिक वर्ष गोदावरी र कृष्णपुरका लागि विनियोजन गरेको बजेटसहितको कार्यक्रम अघि बढ्न नसकेको स्वीकार गरे। भैंसी फार्म कार्यक्रम टीकापुरमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाइएको उनको पनि भनाइ छ। 

कमेन्ट लोड गर्नुस