सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फेसबुक म्यासेजमार्फत रकम माग गर्ने गिरोह सक्रिय

२०७८ जेठ १५, १२:३१ खबर संवाददाता

धनगढीः धनगढीका नागरिक अगुवा प्रमोद पाठकलाई शुक्रबार साँझ कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टको फोन आयो।

भट्टले उनलाई छोरीको स्वास्थ्य र आवश्यक रकमको बारेमा जानकारी माग्दै थिए। तर पाठक अलमलमा परे। उनी भन्छन, “मलाई चुडामणी भट्टले फोन गर्नु भयो। ‘कस्तो छ अवस्था ?’ सोध्न थाल्नु भयो। ‘म ठीक छु’ भने। ‘केही गाह्रो छ की’ भन्नु भयो। ‘छैन’ भने, ‘पैसा माग्दै हुनुहुन्छ त’ भन्नु भयो। ‘कहाँ मागे’ भने। ‘म्यासेन्जरमा आएको छ त’ भन्नु भयो।”

भट्टले फोन गरेपछि मेरो फेसबुकमा भएको फोटोको दुरुपयोग भएको जानकारी पाएको उनको भनाइ छ। उनले थपे, “अरुका पनि फोन आए। धेरैले कति रकम चाहिएको पनि भने। हैन बद्मासहरुको काम हो मैले भने।”

पाठककोे तस्बिर तथा नामको नयाँ फेसबुक खाता खोलिएको रहेछ। उक्त नयाँ खाताबाट उनका साथी तथा आफन्तहरुबाट रकम मागिएको हो। पाठकले कैलाली प्रहरीलाई मेलमार्फत उजुरी दिएको बताए। उनको नाम र तस्बिर भएको फेसबुक म्यासेजमा हिन्दी भाषामा कुरा हुँदै आएको छ। उनले उक्त फेसबुक खाता आफ्नो नभएको र गैरकानूनी काममा प्रयोग भएको भन्दै फेसबुकलाई समेत जानकारी गराएका छन्।

शनिबार बिहान धनगढीका व्यवसायी गोपाल हमाललाई पनि उनका भाइ देवेन्द्र हमालको फेसबुक म्यासेन्जरबाट रकम माग गरियो। बिहान १० बजे अति आवश्यक परेकोले सहयोग चाहिएको भनिएको छ।

तर देवेन्द्रले आफुले कसैसँग रकम नमागेको बताए। उनले फेसबुकको नयाँ खातामार्फत धेरैलाई रकम मागिएको फोन आएका बताए। “फोन धेरै आए। हैरान भएको छु। तर त्यो एकाउन्ट मेरो हैन। नयाँ बनाएको छ,” उनले भने। जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीषक प्रतीक बिष्टले फोनमार्फत गुनासो आएको बताए।

उनले फेसबुक खाता बन्द गर्न सकिने तर थप कारबाहीका लागि प्राप्त उजुरीलाई साइबर ब्युरोमा पठाउनु पर्ने बताए।

कमेन्ट लोड गर्नुस