सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारी बिर्साउने त्यो मन्त्रीहरुको शपथ ग्रहण, जहाँ नवनियुक्त मन्त्रीले मास्कसमेत फुकाले

निषेधाज्ञा: सानालाई ऐन ठूलालाई चयन, प्रशासन निरीह

२०७८ जेठ १४, ०८:३२ खबर संवाददाता

धनगढीः नेकपा एमालेभित्रको चरम विवाद र कोरोना महामारीका बीच सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ। अब प्रदेश सरकारको मन्त्रिमण्डल ११ सदस्यीय पुगेको हो।

नेकपा एमालेको केपी शर्मा ओली र माधव समूहबीचको विवाद उत्कर्षमा पुगेको बेला शपथ ग्रहण भएको हो। तर प्रदेश प्रमुखको कार्यालयमा भएको सो शपथ ग्रहण कार्यक्रम भने कोरोना महामारीलाई बिर्साउने गरी भयो।

सो हलभित्र प्रदेश प्रमुख गंगा प्रसाद यादव, मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु, प्रदेश सरकारका विशिष्ट अधिकारी, पत्रकारलगायत गरी कम्तीमा १ सय जनाको उपस्थिति थियो। प्रदेश प्रमुखको कार्यालयको सानो हलभित्र करीब आधा घण्टा शपथ ग्रहण कार्यक्रम चल्यो।

तर त्यहाँ भौतिक दूरीको कुरै छोडौं, शपथ ग्रहण कार्यक्रम भएको हलभित्र खुट्टा समेत टेक्न नसकिने ठाउँ थियो। 

कोरोना महामारीले कैलालीसहित देशभर कडा निषेधाज्ञा जारी गरिएको अवस्थामा भएको सो शपथ ग्रहण कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा बेवास्ता गरिएको थियो।

यहाँसम्म कि, नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले कुर्सी तथा पदीय उन्मादमा मास्क लगाउन समेत भुलेका थिए।

प्रदेश राजधानी समेत रहेको कैलालीमा स्थानीय प्रशासनले जेठ २० गतेसम्म जारी गरेको छ। तर प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को संयोजक समेत रहेका मुख्यमन्त्री भट्ट आफै सहभागी रहेको कार्यक्रम भने पुरै भद्रगोल रहेको सहभागीहरु बताउँछन्।

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले त्यो कार्यक्रम व्यवस्थापनमा आफूहरुले सुझाव दिनुभनेको ‘छोटा मुह बरा बात’ जस्तै भएको बताए। स्थानीय प्रशासन निरीह भएको थियो। यद्यपी त्यो शपथ ग्रहण गराइएको हल बाहिर भने स्थानीय प्रशासनले निषेधाज्ञा भन्दै सर्वसाधारणलाई  आवातजावतमा भने अति कडाइ गरेको हो।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार मात्रै थप ३ जनाको मृत्यु भएको छ। कैलालीका २ जना र कञ्चनपुरका १ जना गरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल विस्तार, ५ मन्त्रीसहित ४ राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिममा एमालेका ३ मन्त्रीले दिए राजीनामा, शाहले लिए अर्थ मन्त्रीको शपथ
शुक्रबार सुदूरपश्चिममा थप ३ जना संक्रमितको मृत्यु, ५२२ जनामा कोरोना पुस्टि 

कमेन्ट लोड गर्नुस