सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद छल्दै सुदूरपश्चिम सरकार, युवा परिषद गठन आदेश ल्याएर धमाधम पदाधिकारी नियुक्त गर्दै

२०७८ जेठ १४, ०२:५५

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश युवा परिषद गठन आदेश २०७७ ल्याएर पदाधिकारी नियुक्ती प्रक्रिया थालेको छ।

सबैको ध्यान कोरोना महामारीतर्फ केन्द्रित भएको बेला प्रदेश सरकारले संसद छल्दै युवा परिषद गठन आदेश २०७७ ल्याएको हो। सो गठन आदेश ल्याएर प्रदेश सरकारले धमाधम पदाधिकारी नियुक्त गर्न थालेको हो।

परिषदको कार्यकारी उपाध्यक्षमा युवराज कुँवरलाई नियुक्त गरिएको छ। विहिवार प्रदेश सरकारले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो। कुँवर नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष हुन्।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदले सो युवा परिषद गठन आदेश ल्याएको सामाजिक विकास मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले जानकारी दिए।

गठन आदेशलाई कानून सरह मानिन्छ। तर प्रदेश सरकारले प्रतिपक्षको विरोध हुन सक्ने कुरालाई मध्यनजर गर्दै सो आदेशलाई छोटो बाटो प्रयोग गर्दै ल्याएको बताइएको छ। आदेशलाई ऐनको रुपमा ल्याउन प्रदेश सरकारले संसदको बाटो अवलम्बन गर्नुपर्ने हुन्छ। तर आफू निकटका व्यक्तिहरुलाई नियुक्त गर्न गठन आदेश ल्याएको बताइएको छ।

तर मन्त्रालयका कानून अधिकारी सुनारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ३ अनुसार प्रदेश सरकारले गठन आदेश ल्याएको बताए। 

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आफू निकटका व्यक्तिलाई नियुक्त गर्न महामारीकाे माैका छाेप्दै र संसद छल्दै गठन आदेश ल्याउन लगाएको स्रोतको दाबी छ।
 

कमेन्ट लोड गर्नुस