सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने मन्त्रीपरिषदको निर्णय

२०७८ जेठ १३, १०:५० खबर संवाददाता

काठमाण्डौँः नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि सरकारले सो निर्णय गरेको हो। 

बिहिबार बसेको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए। तीनै देशमा सातामा एउटा उडान मात्र खुला गरिएको हो। 

हाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो। त्यस्तै कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन्।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

मन्त्रिपरिषदले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने भनेको छ। एउटा खोप बाँकी भएको तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंका होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ।

खोप नलगाएको तर पीसीआर नेगेटिभ आएकाले १० दिन अनिवार्य आफ्नै खर्चमा होटलमा बस्नुपर्ने छ। आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय नभएको ती मन्त्रीले बताए।

कमेन्ट लोड गर्नुस