सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको टीकापुर अस्पताललाई अक्सिजन सहयोग

२०७८ जेठ १३, ०१:१२ रासस

टीकापुर: कोरोना महामारी समुदायस्तरमै फैलिएपछि कैलालीको टीकापुर अस्पताललाई सबैतिरबाट अक्सिजन सहयोग हुन थालेको छ। कोरोना समुदायस्तरमै फैलिएपछि अस्पतालमा बिरामीसमेत बढेको अवस्थामा अक्सिजन जोहो गर्न अस्पताललाई समस्या भएपछि सबैतिरबाट सहयोग जुटेको हो। 

टीकापुर नगरपालिकाले अस्पताललाई ४६ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ। नगरपालिकाले  अस्पतालमा कोरोनाका बिरामीको उपचारमा सहज होस् भनी १० लाखभन्दा बढी रकम खर्च गरी अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। यसका साथै अस्पताल परिसरमा निर्माण गर्ने तयारी सुरु भएको अक्सिजन प्लान्टका लागिसमेत नगरपालिकाले २० लाख रकम विनियोजन गरेको स्वास्थ्य शाखा संयोजक रावलले बताए।

नगरपालिकाले बुधबारमात्र नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीबाट रकम सङ्कलन गरी ८० थान अक्सिजन रिफिल गरिदिएको छ। यसका साथै चार थान अक्सिजन फ्लो मिटर अस्पताललाई हस्तान्तरण गरेको छ। महामारी नियन्त्रणका लागि सहयोग होस् भनी जनप्रतिनिधि तथा कर्मचारीले केही दिनको तलब कट्टा गरी अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन जोहो गरिदिएको अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले बताए।

“यो सङ्कटको समयमा स्थानीय सरकार, कर्मचारी, सङ्घसंस्था, नागरिक सबैले सहयोग जुटाउन थाल्नुभएको छ”, अध्यक्ष रावलले भने, “यसबाट हामीलाई उपचार सेवा दिन र नागरिकको ज्यान बचाउन सहयोग पुगेको छ।” टीकापुर अस्पतालमा ४३ जना बिरामी उपचाररत छन्।

वैशाख महिनायता अस्पतालबाट ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्। अस्पतालमा टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका, जानकी, बर्दगोरिया, जोशीपुर, मोहन्याल गाउँपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी उपचार सेवा लिन आउने गर्दछन्। अस्पतालले सात थान भेन्टिलेटर जडान गरिसकेको छ। 

यहाँका स्थानीय तहले खर्च ब्यहोर्ने सहमतिपछि एनेस्थेसिया चिकित्सकका लागि अस्पतालले दरखास्त आह्वान गरेको छ। चिकित्सक भएमा अस्पतालमै आइसियु सेवा सञ्चालन हुने र बिरामीलाई राहत हुने अस्पतालका निमित्त प्रमुख डा रेमकुमार राई बताउँछन्।

“दरखास्त आह्वान भएको छ, चिकित्सक भएमा जटिल समस्या भएका बिरामीको पनि यहीँ उपचार गर्न सकिन्छ”, डा राई भन्छन्, “अन्य सबै व्यवस्थापन भइसकेको छ। एनेस्थेसिया चिकित्सक आएमा तत्काल आईसीयू सेवा सञ्चालन गर्न सक्छौँ।”
 

कमेन्ट लोड गर्नुस